पुस्तक परिचर्चाका बीच सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, २०७९, पुस ७ । 
लेखक दीपक भेटुवाल (दीपसागर) को भद्रकुमारी घलेबारे लेखिएको बहुआयामिक पुस्तक भद्रकुमारी घले र उनका आयामहरु´ माथि परिचर्चा गर्दै `क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार अर्पण गरिएको छ । बिहिवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा भेटुवालको उक्त पुस्तकमाथि परिचर्चा गर्दै सम्मान कार्यक्रम गरिएको हो ।



नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरु लव गाउँले र जलेश्वरी श्रेष्ठलाई नगद २५ सय राशिसहित क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार अर्पण गरिएको थियो । नेपाली भाषा र साहित्यको विकासमा लामो समयदेखि योगदान दिँदै आएकाले गाउँले र श्रेष्ठलाई सम्मान गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा सम्मानित गाउँलेका अरे क्या नाम, अनुहार त बरु कागजकै भए हुने, आँखाभित्र आँखाबाहिर,भूगोलको एक छेउ, कालचक्र, म मेरो देश खोजिरहेछु, गाउँलेका मसिना कथाहरू आदि विभिन्न विधाका पुस्तकाकार कृतिहरु प्रकाशित भएका अर्को साहित्यकार जलेश्वरी श्रेष्ठका मौन विद्रोह, लाभाका वाफहरू, परीको घर, मेहनती गौरी, तिसाको जन्मदिन, सुनपरी, नियति चक्र, शान्ताको इच्छा,
लगायत विभिन्न विधाका एक दर्जन पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । सम्मानित गाउँले र श्रेष्ठका बारेमा वरिष्ठ समालोचक एवं साहित्यकार डा. रजनी ढकालले बोल्नु भएको थियो । उहाँले पुरस्कृत व्यक्तित्वहरुको विभिन्न पक्षमाथि चर्चा गर्दै नेपाली साहित्यमा दिएको योगदान उल्लेख गर्नुभयो । क्याप्टेन रतन बहादुर लामिछानेको धर्मपत्नी कवि एवं गीतकार सपना लामिछानेको सहकार्यमा सूचक प्रकाशनले स्थापना गरेको उक्त पुरस्कारबाट यसअघि डा. तेजेन्द्र राई, प्रा. कुसुम लामिछाने, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, डा. मिरा प्रधान, साहित्यकार गंगा लिगल, पत्रकार मिलन मास्केलगायत विभिन्न क्षेत्रमा योगदान दिएका १२ जना व्यक्तित्वहरू सम्मानित भएका छन् ।
सूचक प्रकाशनले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद सदस्य एवं वरिष्ठ समालोचक साहित्यकार डा. देवी नेपाल र वरिष्ठ समालोचक एवं साहित्यकार ज्ञानु अधिकारीले दीपक भेटुवालको पुस्तकमाथि चर्चा गरेका थिए । उक्त कार्यक्रममा विभिन्न कारणले पछाडि पारिएका महिलाहरूको योगदानलाई उजागर गर्ने आफ्नो योजनाअनुरुप भद्रकुमारी घलेको बारेमा पुस्तक प्रकाशन गरेको लेखक भेटुवालले बताए । साथै उनले आवश्यक स्रोत र साधन जुटेको खण्डमा आगामी दुई वर्षभित्र पुस्तकको दोस्रो संस्करण प्रकाशन गर्ने उद्घोष पनि गरे ।

पुस्तकमाथि आफ्नो समालोचकीय धारणा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद सदस्य एवं वरिष्ठ समालोचक साहित्यकार डा. देवी नेपालले भेटुवालको उक्त पुस्तकले नेपाली साहित्यमा बिल्कुलै नयाँ र महत्त्वपूर्ण आयाम थपेको बताए । `यो सामान्य विषय होइन, यो कार्यले उनलाई प्रकाशजस्तै चम्काएको छ´- उनले भने । यस्तै वरिष्ठ समालोचक एवं साहित्यकार ज्ञानु अधिकारीले पुस्तकमाथि चर्चा गर्दै भेटुवालको उक्त कृति नेपाली साहित्यलाई अमूल्य उपहार भएको धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङले भद्रकुमारी घले र कवि सपना लामिछानेको योगदानका बारेमा चर्चा गर्दै दीपकलाई नामजस्तै उज्यालो छर्न आग्रह गर्नुभयो । साथै उहाँले क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कारको संस्थापक सपना लामिछाने र साहित्यकार भद्रकुमारी घलेको चर्चा गर्नुभएको थियो । सूचक प्रकाशनको आजिवन सदस्य वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कवि सपना लामिछाने, साहित्यकार हरिप्रसाद पाण्डेय, साहित्यकार भद्रकुमारी घले, डा. रिति लामिछाने तथा वरिष्ठ समाजसेवी कृष्ण बहादुर श्रेष्ठलगायतका व्यक्तिले बोलेका थिए । 

Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ